नटिप्नु हेर कोपिला !
नचुँड्नु पाप लाग्दछ।
नच्यात्नु फूल नानि हो !
दया र धर्म भाग्दछ।।

नछोप्नु है चरी बरी
सराप आँसु लाग्दछ।
नमार्नु जन्तु है कुनै
बसेर काल जाग्दछ।।

न घाउ चोट लाउनू
सडेर चित्त पाक्दछ।
धूलो नफेक्नु नानि हो !
उडेर भित्र ढाक्दछ।।

हिलो नखेल्नु फोहरी
खराब दाग लाग्दछ।
न चित्त है दुखाउनु
डसेर आँसु बग्दछ।।

बनेर फूल झैं सधैं
हँसाउनू सुवास दी।
सधैं रमाउनू जगत्
रमेर नित्य आश दी।।

जताततै छ ईश रे
छ सुन्नु त्यो विचार रे।
छकाउने लुकाउने
नराख भाव क्यै गरे ।।