शान्ती सापकोटा बाल साहित्यकार, नेपाल बालसाहित्य समाजकी सदस्य एवं बालवाङ्गमय तथा अनुसन्धान केन्द्रकी कोषाध्यक्ष हुनुहुन्छ । हालसालै उहाँका बाल कथा संग्रह सिमसारको शंखे र बालकविता संग्रह धरतीकी रानी प्रकाशित भएका छन् । पढ्नुहोस् उहाँसँगको कुराकानी-

 

सिमसारको शंखे कस्तो पुस्तक हो ?
यो ५ कथाहरूको सङ्ग्रह हो । यसमा विभिन्न जीवजन्तु र चराहरू पात्र छन् । यो पुस्तक आफैंले पढ्न सक्ने भाइबहिनीहरूका लागि हो । किशोर जोशीका चित्रहरूले यो संग्रहका कथाहरूलाई पूर्ण बनाएको छ ।

धरतीकी रानी पुस्तकबारे पनि केही बताइदिनुहुन्छ कि ?
धरतीकी रानी कविता संग्रह हो । यसमा १८ वटा कविता छन् । यो पुस्तक पनि आफैं पढ्न सक्ने भाइ बहिनीहरूका लागि उपयोगी छ । अभिभावक, शिक्षक वा अरु जोसुकैले पनि यसमा भएका कविताहरूलाई लय हालेर बाचन गर्न र आफ्ना नानीबाबुहरूलाई सुनाउन पनि सकिन्छ । यस पुस्तकमा रविन्द्र मानन्धरले बनाउनु भएका रङ्गीन चित्रको साजसज्जा छ ।

दुईवटा पुस्तक एकैपटक प्रकाशित गर्दा कस्तो महसुस भइरहेको छ ?
आफूले लेखेका पुस्तकहरू प्रकाशन हुँदा खुशी नहुने को नै होला र ? मलाई पनि खुशी लागेको छ । खासमा यी रचनाहरू ८/१० वर्षअघि देखि नै तयार भएका थिए । त्यसैले दुईवटै पुस्तक एकैचोटि प्रकाशन गर्नु पर्दा पनि कुनै असहज महसुस भएन ।

अब फेरि कुनै पुस्तक प्रकाशन हुँदै छन् कि ?
हो नि । भ्यागुताको गीत शीर्षकको चित्रकथा प्रकाशनको तयारीमा छ । मलाई बालबालिकाका लागि रुचिकर हुने कृतिहरू लेखिरहन पन पर्छ । त्यसैले भविश्यमा पनि बालहासित्यमै क्रियाशील भइरहनेछु ।