प्रारम्भिक बालविकास विज्ञ सविता खनालको सचित्र-बालकथा संग्रह ‘कार्याको जङ्गल-यात्रा’ सार्वजनिक भएको छ ।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमा बाल साहित्य सर्जकहरू, शिक्षासेवीहरू र बालबालिकाले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन् ।

पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै साहित्यकार एवं प्राध्यापक डा. देवी नेपालले बाल-साहित्य सर्जकले सबैभन्दा बढी बालबालिकाबाट सिकेर उनीहरूलाई नै सिकाउन सक्नुपर्ने बताउनुभयो । बाल साहित्यका कृतिहरू प्रकाशन गर्दा विषयवस्तुको छनौट र लेखनशैलीका साथै शीर्षक चयनमा बाल मनोविज्ञानलाई सूक्ष्म रूपमा अध्ययन गरिनुपर्ने उहाँको धारणा थियो ।

नेपाल बाल साहित्य समाजका पूर्व अध्यक्ष प्राध्यापक डा. ध्रुव घिमिरेले बाल साहित्यको रचना गर्दा ध्यान दिनुपर्ने आधारभूत पक्षहरूबारे जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘बाल-साहित्यका खास पाठक र समीक्षक हामी वयष्क र प्रौढहरूभन्दा पनि बालबालिका नै हुन् ।’ उहाँले खनालका कथाहरू छोटो मिठो ढंगले प्रस्तुत गरिएका र तिनमा पात्र छनौटले कथा अझ चाखलाग्दा भएको बताउनुभयो ।

विकसित मुलुकहरूमा बाल-साहित्यका विविध विधा, आकार र ढंगका पुस्तकहरू प्रकाशन हुने गरेको सन्दर्भलाई जोड्दै बाल साहित्य-स्रष्टा अनन्त वाग्लेले नेपाली बाल साहित्यको गुणात्मक विकासका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताउनभुयो ।

कथाकार खनालले बालबालिकाका क्षेत्रमा काम गर्दाका अनुभव र अनुभूतिहरूलाई समेटेर आफूले यो किताब तयार पारेको बताउनुभयो । उहाँले आफ्नो कृतिलाई धेरैभन्दा धेरै बालबालिका समक्ष पुर्‍याउनमा सबैको साथ-सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

बौद्ध, कुमारीगालस्थित अरुणिमा स्कुलमा आयोजित एवं सोही स्कुलका एक्जुकेटिभ प्रिन्सिपल ईश्वरी लामिछानेको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई सामाजिक अभियन्ता डा. कृष्ण सुवेदीले प्रा. रुद्रहरि ज्ञवालीलगायतले सम्वोधन गर्नुभएको थियो ।

कार्यक्रममा कक्षा ३ मा पढ्ने नानी इदिका भण्डारी र कक्षा ५ मा पढ्ने बाबु प्रलभ ढकालले ‘कार्याको जङ्गल-यात्रा’ सचित्र कथासंग्रहका एक/एक कथा वाचन गरेका थिए । कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापकहरू र शिक्षासेवी एवं साहित्यसेवीहरूको उपस्थिती थियो ।

ईटर्नल प्रकाशन प्रा.लि.ले प्रकाशन गरेको यस सचित्र कथासंग्रहका चित्रहरू देव कोइमीले बनाउनुभएको हो । आकर्षक साजसज्जा सहितको यो किताबको मूल्य १८५ रूपैयाँ रहेको छ । कक्षा १ देखि कक्षा ४ सम्मका विद्यार्थीहरूका लागि लक्ष्यित यो पुस्तकमा बालबालिकाका लागि रोचक ९ कथाहरू सचित्र समावेश छन् ।

नानीबाबुअनलाईन
थप जानकारी