काठमाडौंको जडीबुटी, नरेफाँटस्थित नेपाल सेन्ट्रल हाइस्कुलले आफ्नै विद्यालय परिसरमा ‘बृहत् शैक्षिक मेला–२०८०’ आयोजना गरेको छ । शैक्षिक मेलामा सेन्ट्रल हाइस्कुलका विद्यार्थीले बनाएका बिभिन्न शैक्षिक सामग्रीहरू प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा नेपाली, विज्ञान, गणित, सामाजिक शिक्षा, अङ्ग्रेजीलगायत विद्यालयमा अध्यापन हुने सबै विषयका सामग्रीहरू राखिएको थियो ।

किताबी ज्ञानबाट मात्र विद्यार्थीहरूको भविष्य सुन्दर हुन नसक्ने भएकाले उनीहरूलाई प्रायोगिक र व्यावहारिक ज्ञानसमेत दिलाउनका लागि यस प्रकारको प्रदर्शनी आयोजना गरिएको प्रिन्सिपल सूर्य भण्डारीले जानकारी दिनुभयो । “विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि हामीले यो बृहत् शैक्षिक मेला’ आयोजना गरेका हौं,” उहाँले भन्नुभयो, “यस्तो मेला हामीले वार्षिक रूपमा राख्ने गरेका छौं ।”

उक्त अवसरमा विद्यार्थीहरूले विज्ञान र स्वास्थ्यसम्बन्धी बिभिन्न प्रयोगहरू गरेर देखाएका थिए । उनीहरूले नेपालका प्रमुख सम्पदा र स्मारकहरूका प्रतिमूर्ति बनाएर प्रदर्शनीमा राखेका थिए । मेलामा सामाजिक, धार्मिक, सांस्कृतिक, भाषिक सम्पदा र सहिष्णुता झल्काउने सामग्री तथा श्रव्य÷दृष्यहरूसमेत प्रस्तुत गरिएको थियो । प्रदर्शनीस्थल हस्तकला र चित्रकलाका बिभिन्न सामग्रीहरूले झकिझकाउ थियो ।

नेपाल सेन्ट्रल हाइस्कुलले सैद्धान्तिक शिक्षणसँगै व्यावहारिक शिक्षालाई उच्च प्राथमिकतामा राख्दै आएको छ । मुलुकका अधिकांश शिक्षण संस्थाहरू सैद्धान्तिक ज्ञानमा मात्र सीमित भइरहेको र यसले गर्दा शिक्षित जनशक्ति बेरोजगार हुने क्रम बढिरहेको अवस्थामा विद्यालय तहदेखि नै विद्यार्थीलाई प्राविधिक र व्यावहारिक ज्ञान दिन सके यो समस्या हल हुन सक्ने विज्ञहरू बताउँछन् । बृहत् शैक्षिक मेलामा बिभिन्न विद्यालयका शिक्षक–विद्यार्थीहरूका साथै साहित्यकार, संस्कृतिकर्मी, सञ्चारकर्मी र अभिभावकहरूलगायतको उपस्थिति थियो ।

नानीबाबुअनलाईन
थप जानकारी