

सँधैजसो समुद्रमा पानी बनी बस्छु
चर्को घाम लाग्यो भने बाफ बनी उड्छु ।
बादलको रूप लिई आकासमा डुल्छु
हावासँग बतासिन्छु हावासँगै भुल्छु ।
हिमालको चिसो भेटे हिउँ बन्छु सेतै
कपासझैं झरिदिन्छु फुर्र जताततै ।
बर्खा लागे वर्षिदिन्छु बन्छु दर्के झरी
नचाहेरै भेल बाढी हुन्छु घरी घरी ।
विहानीमा सँधैजसो शीतविन्दु बन्छु ।
घाम परे सप्तरंगी इन्द्रेणी भैदिन्छु
चीसो पारे जमिदिन्छु बरफको टुक्रो
तातो पारे उम्लिदिन्छु आत्थु गर्ने भुल्को ।
अनेक छन् मेरा रूप खासमा हुँ पानी
दुःख–सुख तल–माथि यै हो जिन्दगानी ।
प्रतिक्रिया दिनुहोस्