पर्ख, पर्ख, पर्ख
 पर्ख एकै छिन
  विचार नपुर्‍याई
   हिँड्छौ तिमी किन ?
दायाँबायाँ हेर
 अनि बल्ल हिँड
  जमिनतिर हेर
    के हो भन्ने चिन
तिम्रो जस्तै छ नि
 मेरो पनि छाती
  छातीमाथि टेक्ने
    हुन्छ अरे घाती
बीउ बेर्ना हुन्छु
 बेर्ना बोट हुन्छु
  किचिमिची पारे
    म बिचरो रुन्छु
सपना छ मेरो
 ठूलो हुने मन छ
  भो-भो नकुल्चिऊ
    यही मनले भन्छ
बढेपछि भोलि
 घाँस-दाउरा दिन्छु
  अक्सिजनसँग
    हावा साटी लिन्छु
कुरिराख मेरो
 रूख हुने दिन
  तिम्रो पनि आउँछ
    सुख हुने दिन ।
रमेशचन्द्र घिमिरे
थप जानकारी