समता १० वर्षकी भइन् । उनी सानैदेखि बाबाआमाको लाडप्यारमा हुर्किइन् । उनलाई अझै पनि उनकी आमाले नै खाना खुवाइदिनुपथ्र्यो । बिद्यालय जाने बेलामा लुगा लाइदिने, किताब मिलाइदिने लगायतका सबै काम आमाले नै गरिदिनुहुन्थ्यो । कहिलेकाहीँ त होमवर्कसमेत आमाले नै गरिदिनुहुन्थ्यो ।

समतालाई घरका कुन सामान कहाँ छन् कुनै पत्तो हुदैनथ्यो । कहिलेकाहीँ आमाले ‘नानी यस्तो सामान झिकेर ल्याऊ न’ भन्नुभयो भने समता ‘मलाई त थाहै छैन त्यो सामान कता छ’ भनेर एकातिर खेल्न कुदिहाल्थिन् ।

समतालाई भान्छामा पनि के–के गर्नुपर्छ भन्ने कुनै ज्ञान थिएन । उनलाई ग्याँस बाल्न, पानी बसाल्न, तरकारी काट्न केही पनि आउँदैनथ्यो । ती सब कुरामा उनलाई कुनै चासो थिएन । सबैथोक आफूले भनेको ठाउँमा भनेकै बेला पाएपछि चासो होस् पनि कसरी ?

वार्षिक परीक्षा सकिएपछि समता आफ्नी सानीआमाको घर गईन् । सानीआमाको घर शहरभन्दा टाढाको गाउँमा थियो । सानीआमाको घरमा उनकै उमेरकी छोरी ममता थिईन् । ममतासँग खेल्न पाउने लोभले समता छुट्टी भयो कि सानीमाको घर जान रहर गर्थिन् । तर दुईवर्ष यतादेखि उनी सानीमाको घर जान पाएकी थिइनन् । यसपाली भने जिद्दी गरेर भए पनि उनी आमासँगै सानीमाको घर गएरै छोडिन् ।

ममताका आमा र बाबा दुबै जना काममा जानुहुन्थ्यो । त्यसैले दिउँसो घरमा समता, उनकी आमा र ममता मात्रै हुन्थे । समतालाई ममतासँग खेल्ने मात्रै ध्याउन्न हुन्थ्यो । तर ममतालाई चाहिँ आमालाई घरको काम सघाउनको पनि ध्याउन्न हुन्थ्यो । उनी खेल्दाखेल्दै बीचैमा छोडेर ‘पख है म बाख्रालाई घाँस हालेर आउँछु’ भन्थिन् । अनि एकछिन पछि भन्थिन्, ‘गाईलाई पराल दिएर आउँछु ।’ समतालाई भने ममता खेल्न छोडेर घरी घरी काम गर्न गएको खासै मन पर्दैनथ्यो । तैपनि उनी ममताको पछिपछि लाग्थिन् ।

दिउसो २ बजेतिर समतालाई भोक लाग्यो । उनले खाजा के खाने होला भनेर आफ्नी आमालाई सोधिन् । समताकी आमा अलमल्ल परिन् । उनलाई पनि थाहा थिएन के खाजा खाने होला भनेर । ममताले भनिन्, ‘म बनाइहाल्छु नि खाजा, के को चिन्ता ?

ममताले बट्टाबाट मकै झिकिन् । आगो फुकिन् । माटोको हाँडी बसालिन् । आगोले तातेपछि मकै राखेर बाँसको कप्टेराले चलाइन् । एकैछिनमा हाडीभित्र मकै पड्किन थाल्यो । सबै मकै पड्किइसके पछि उनले कपडाले हाडी समातेर थालमा खन्याइन् । फेरी अर्को घान मकै पनि त्यसैगरी भुटिन् । मकै भुटिसकेपछि उनले अर्को बट्टाबाट गुन्द्रुक झिकिन् । त्यसलाई अलिकति पानीमा भिजाईन् । नुनखुर्सानी पिनेर उनले गुन्द्रुकको अचार पनि बनाइन् । त्यसपछि उनले समता र उनकी आमालाई खाजा दिइन् । आफूले पनि खाइन् ।

खाजा खाइसकेपछि एकैछिन खेलेर ममताले गाइबाख्रालाई खानेकुरा र पानी दिइन् । अनि भरेको लागि बारीबाट आलु खनेर त्यसलाई पखालेर तरकारी ठीक पारिन् ।बेलुका ममताको आमा आएर आलुको तरकारी र रोटी पकाउनुभयो । गाईको दूध पनि तताउनुभयो । सबैजना मिलेर रोटी, तरकारी र दूध खाए । अनि एकछिन गफ गरेर सुत्न गए ।

सबैजना निदाइसक्दा पनि समतालाई निन्द्रा लागेन । आफूभन्दा एक महिना बहिनी ममताले सबैथोक गर्न जानेको देखेर उनलाई अचम्म लाग्यो । सँगसँगै आफूले केही गर्न नजान्ने संझिएर पछुतो पनि । उनले मनमनै अठोट गरिन्– म पनि घर फर्किएपछि आमासँग सबै काम सिक्छु । काम गर्न जान्यो भने घरमा कोही नभए पनि भोकै बस्न नपर्ने रहेछ । उनले आमा नभएको बेलामा आफू घरमा भोकै बस्नुपरेको संझिइन् ।

दुईचार दिन सानीमाको घर बसेर समता आमासँगै शहर फर्किइन् । उनले पनि ममताले जस्तै घर ब्यवहार कसरी गर्ने भनेर सिक्न लागिन् ।

आजकल समतालाई आमाले खाना खुवाउनु पर्दैन । विद्यालयको पोशाक पनि आफैं लगाउँछिन् । घरका सरसामान कता कता छन् उनी सजिलै बताउन सक्छिन् । चाहिएको बेलामा झिक्न र राख्न पनि सक्छिन् । उनको यस्तो बानी देखेर घरका सबैजना समतासँग औधी खुशी भएका छन् ।

उमा भण्डारी
थप जानकारी