कुनै समयको कुरा हो– पहाडबाट बग्दै आएको नदी किनारमा एउटा विशाल रूख थियो । त्यो रूख नदी र त्यस क्षेत्रको आसपास बस्ने चराचुरुंगीहरूका लागि घर समान थियो । त्यो रूख धेरै पन्छीहरूका लागि हावाहुरी र घामपानीबाट जोगिने आश्रय बनेको थियो । रूखका हाँगाहरूमा थुप्रै चराहरूले गुँड लगाएका थिए । उनीहरू नदीपारी टाढा टाढासम्म चारो खोज्न जान्थे । आफू खान्थे । अनि फर्केर त्यही रूखका गुँडहरूमा हुर्कंदै गरेका बचेराहरूलाई पनि खुबाउँथे ।

एक दिनको कुरा हो– केही बाँदरहरू नजिकैको अर्को तर केही होचो रूखहरूमा चकचक गरिरहेका थिए । अचानक गड्याङ्गुडुङ गर्दै आकास कालो नीलो भयो । एकैछिनमा घनघोर पानी पर्न थाल्यो । सबै चराहरू त्यो ठूलो रूखको अग्ला हाँगाविँगाहरूमा भएका आ–आफ्ना गुँडहरूमा सुरक्षित भएर बसे । तर त्यसरी सुरक्षित भएर बस्नका लागि बाँदरहरूको कुनै घर थिएन । पानीले बेस्सरी चुटिएर बाँदरहरू थुरथुर काँप्न थाले ।

बाँदरहरू त्यसरी जाडोले काँप्न थालेको देखेर चराहरूलाई एकदमै दया लाग्यो । उनीहरूले चिरबिर चिरबिर गर्दै बाँदरहरूलाई भने– “ए बाँदरहरू हो, तिमीहरूको बस्ने कुनै घर छैन । तिमीहरू पनि यस्तो आपत् विपत्को बेला बस्ने घर बनाऊ । हामी चराहरू यति साना छौं । चुच्चोका भरमा त आफ्नो गुँड बनाउन सक्छौं भने तिमीहरू त झन् कति राम्रो र बलियो घर बनाउन सक्छौं नि । तिमीहरूलाई त भगवान्ले हाम्रोभन्दा थप दुई हातहरू पनि दिनुभएको छ ।”

चराहरूको यस्तो अर्ति सुनेर बाँदरहरूलाई चेत खुल्नु त परै, उल्टै रिस पो उठ्यो । उनीहरूलाई लाग्यो– “ए..अब हुँदा हुँदा यी फिस्टे चराहरू हामीलाई अर्ति दिने भए हैन ?” बाँदरहरूले चराहरूको कुरालाई आफ्नो घोर अपमानका रूपमा लिए । अनि उनीहरूले चराहरूलाई धम्की दिंदै भने, “पख हामीलाई बडो उपदेश दिने भएका हैनौं । पानी पर्न त रोकियोस्, अनि हामी देखाईदिन्छौं कि घर कसरी बनाउने भनेर ।”

बाँदरहरूको धम्की सुनेर चराहरू डराए । नभन्दै केहीबेरमा पानी पर्न रोकियो । लगत्तै बाँदरहरूको एक हुल चराहरू भएको रूखमा चढेर बेस्सरी हाँगाबिँगा हल्लाउन थाले । उनीहरूले चराहरूका सबै गुँड भत्काईदिए । अण्डाहरू पनि भुईंमा झारिदिए । बिचरा चराहरू रुँदै कराउँदै आकाशमा उड्न थाले । बाँदरलाई ब्यर्थैमा सल्लाह दिंदा उनीहरू आफैं आपत्मा परे ।

त्यस दिनदेखि चराहरूले ठूलो शिक्षा पाए– कसैलाई नमागिएको सल्लाह दिनु हुँदैन रहेछ । मूर्खलाई त झन् अर्ति कहिल्यै पच्दैन रहेछ । सल्लाह त्यस्तालाई मात्रै दिनु पर्ने रहेछ जसले त्यसलाई ग्रहण गर्न सक्छ ।
त्यसपछि चराहरू बाँदरदेखि अलग्गै टाढाको अर्कै रूखमा बस्न थाले ।

(यो कथा हितोपदेशबाट संग्रहित हो ।)