कुटी बालकथाहरूको सँगालो हो । यो किताबमा ११ वटा रोचक कथाहरू छन् । यी कथाहरूका लेखक बिजयराज आचार्य हुनुहुन्छ ।

‘हेर्दै, खेल्दै, सिक्तै’ र ‘जटायुको कुटी सम्मेलन’ यस सँगालाे भित्रका बिज्ञानमा अधारित रमाइला कथा हुन् । यी कथामा वातावरणीय चेतना जगाउने कुरा छन् । पर्यावरणीय ज्ञानका विषय छन् । यी कथाहरू पढेर जीबजन्तु र मानिसबीचको सम्बन्ध बुझ्न सकिन्छ । यिनले जनावर र प्रकृतिमा भइरहेका विभिन्न घटनाहरू थाहा पाउन सघाउँछन् ।

यस सँगालोमा भएका कुनै कथामा पारिवारिक र सामाजिक बिषयलाई पनि रमाइलोसँग प्रस्तुत गरिएको छ । ‘बुद्धको न्याय’ शीर्षकको कथा त्यस्तै रमाइलो र प्रेरणादायी कथा हो । यस कथामा एउटी राक्षसनी बुद्धको संगतले बालबालिकाकी संरक्षक बन्न पुगेकी छिन् । कथा एकदमै रमाइलो र सरल भाषामा लेखिएको छ । सबै कथाहरू मनमा कौतुहल जगाउने र शिक्षा दिने खालका छन् । प्रत्येक कथाबाट बालबालिकाले कुनै न कुनै शिक्षा सिक्न सक्छन् । सँगसँगै उनीहरूमा पढ्ने बानी बसाउन पनि यिनले राम्रै सघाउँछन् ।

यस कथा सँगालोका लेखक बिजयराज आचार्य बाल साहित्यलाई नै प्रमुख विधा बनाएर सिर्जनारत स्रष्टा हुन् । उनी एक कुशल अनुवादक पनि हुन् । उनको यो पुस्तक १० बर्ष माथिका बालबालिकाका लागि एकदमै उपयुक्त छ । यो किताबको सम्पादन अनन्त वाग्लेले गर्नु भएको हो भने भाषा सम्पादन प्रमोद प्रधानले । बिबेक सिर्जनशील प्रकाशन प्रा.ली.ले बजारमा ल्याएको यो पुस्तकको मूल्य २५० रूपैँया छ ।