एकादेशमा एकजना बूढो दाउरे थिए । उनी दाउरा बेचेर गुजारा चलाउँथे । उनकी एक पत्नी थिईन् । तर कुनै सन्तान थिएनन् । त्यसैले बूढो भए पनि जङ्गलमा गएर दाउरा नकाटी उनीहरूलाई खान पुग्दैनथ्यो । उनले जँगलकै छेउमा एउटा सानो झुपडी बनाएका थिए । उनी गरिब भए पनि मिहिनेती र इमान्दार थिए । हरेक दिन एक भारी दाउरा काट्थे । अनि नजिकैको पसलमा लगेर बेचेर साँझ घर फर्किन्थे ।

एकदिन सधैझै‌ँ उनी दाउराको भारी बनाएर घर फर्किंदै थिए । उनलाई धेरै थकाई लागेको थियो । उनी एउटा रुखमुनि भारी बिसाएर खुत्रुक्क सुते । एकदमै थकाइ लागेको हुनाले उनी भुसुक्कै निदाए । त्यो रुख माथि धेरै बाँदरहरू थिए । ती बाँदरले त्यो भारीबाट एक एक दाउरा झिक्दै पोखरीमा प्mयाँक्दै गर्न थाले । एकछिन त बूढोले केही थाहा पाएनन् । एकछिन पछि ब्युँझिदा त उनी छक्कै परे । अनि रुन कराउन थाले । “अब के गरेर भोलिका लागि खानेकुरा जुटाउने होला ?” उलाई पर्नु पिर पर्याे । अब जँगल गएर फेरि दाउरा काट्ने समय पनि थिएन ।

उनी रुँदै पोखरीतिर गए जहाँ उनका दाउरा तैरिरहेका थिए । उनले लामो बाँसको सहायताले ती दाउरा निकाल्न थाले । त्यहीबेला एउटा खरायो उनको अगाडि देखा प¥यो । उ घाइते थियो । कसैले उसलाई तिरले हानेको थियो । त्यो खरायोलाई कुनै जँगली झारको औषधी बनाएर लगाइदिन पाए त त्यो बाँच्ने थियो होला भन्ने बूढालाई लाग्यो । तर त्यतिबेलासम्ममा साँझ पर्न लागिसकेको थियो । पोखरीबाट दाउरा निकालेर शहर लगेर बेचेर घर फर्कनु थियो ।

अब के गर्ने ? बूढाले मन मनमा सोचे, “एकदिन नखाएर त म मर्दिन । तर यो खरायोले ओखती पाएन भने त यो मर्छ ।” यो सोचेर बूढा जडिबुटी खोज्नतिर लागे । उनले त्यो खरायोको घाउलाई पोखरीको पानीले सफा गरिदिए । खोजेको जडिबुटी ढुङ्गामा पिसेर लेप लगाइदिए । अनि यसो हात धोएर हेर्दा त खरायो गायब । उनलाई सबै सपना जस्तोे लाग्यो ।

अब दाउरा निकाल्ने समय पनि थिएन । उनी खाली हात घर फर्किए । तर अचम्म । घर पुग्दा त बूढीले धेरै खालका खानेकुराहरू पाकाइसकेकी थिइन् । घरमा अरु सामान पनि टन्नै थियो । “कसरी आए यति धेरै सामाना ?” बुढाले अचम्म मान्दै सोधे । बूढीले सुनाईन्, “कसैले आएर घरको ढोका ढक्ढक् गर्यो । ढोका खोल्दा कोही देखिएन । तर त्यहाँ एउटा ठूलो ढक्की थियो । ढक्की भित्र टन्नै खानेकुरा र फलफूल रहेछन् ।”

बूढीको कुरा सुनोर बूढाले भने, “कस्ले ल्यायो होला त ? अरुले त्यतिकै ल्याएको खाना नबुझि खान हुन्न । बरु आज भोकै सुतौं ।” बूढीलाई पनि पतिको कुरा ठिकै लाग्यो । उनीहरू त्यो दिन खाना नखाई भोकै सुते । राती बूढाको सपनामा त्यही खरायो आयो अनि भन्न लाग्यो, “म भगवान् हुँ । म तिम्रो परीक्षा लिन आएको थिएँ । अब तिम्रा दुःखका दिन गए । तर तिमीले मैले पठाएको खानेकुरा खाएनौ । मलाई दुःख लागेको छ । ढोका खोलेर बाहिर हेर त तिम्रा लागि मैले के राखिदिएको छु ।”

बूढो झल्याँस्स ब्युँझिए । बाहिर उज्यालो भैसकेको रहेछ । उनी झटपट उठेर ढोका खोल्न गए । ढोका अगाडि त सुनै सुनले भरिएको एउटा बक्सा पो थियो । खुशीले चिच्याउदै उनले बूढीलाई बोलाए । बूढी पनि छक्कै परिन् । “होइन यो सब के भइरहेको छ ? हिजो खानेकुरा आज सुन ?”

बूढीको कुरा सुनेर बूढाले भने, “म सबैकुरा तिमीलाई बताउँछु, पहिले भित्र हिँड ।”दुबैजनाले त्यो बक्सा बोकेर भित्र लगे ।

बूढाले हिजो के के भएको थियो भन्ने कुरा र राति सपनाको कुरा सबै सुनाए । आफ्नो बूढाको असल कामप्रति खुशी हुँदै बूढीले भनिन्, “तपाईंले साह्रै राम्रो काम गर्नुभएछ । यो सुन बेचेर हामीले पनि गरिब दुःखीको पनि सेवा गर्नु पर्छ ।” त्यसपछि उनीहरू धेरैबेरसम्म आपसमा के के सल्लाह गरिरहे ।

सुन्नेलाई सुनको माला भन्नेलाई फूलको माला । यो कथा सबैको मनमा जाला । भन्नेबेलामा खुरुखुरु आउला ।