‘छोरी, छिटो आइज भात सेलाइसक्यो ।’
‘सेलाए सेलाओस्, भरे भरे खाउँला ।’
‘होइन, के भन्छे यो केटी आज ? सधैं त हतार भो छिटो कि छिटो भन्थी ।’
‘आज स्कुल जानै मन छैन क्या त्यसैले… ।’
‘किन र विदा त होइन । किन मन छैन ? स्कुल नगएर नि हुन्छ कहीँ ?’
‘आमा पनि जान्नँ भनेपछि कति जिद्दी गरिरहनु प¥या होला ?’
‘बिरामी पनि भकी छैनस् अनि किन जान्नँ नि ? आइहाल, खाइहाल ।’
‘हजुरबुबा, हजुरआमा, बुबा, भाइ, बैनी सबैलाई दिनू, तपाई पनि खानु । म अलि भरे खाउँला ।’
‘हैन, के भन्छे यो गंगा ?’

गंगाले आमासँग लामो बहस गर्न चाहिनन् । चुपचाप आफू सुत्ने कोठामा पसिन् र एउटा कुनामा गजरा पल्टाएर लडिन् ।
सबैले खाएर आ–आफ्नो काममा लागेपछि आमा गंगाको कोठामा पस्नुभयो ।
‘ल यो त लडिछे पो, यसो भयो पनि छैन उसो भयो पनि छैन’, आमाले स्कुल नजानुको कारण बुझ्न खोज्दै मन चोर्नुभयो ।
‘अनि के गर्नु त स्कुल जान पाए पो !’
‘कस्ले दिएन तँलाई ? कस्ले नजा भन्यो र ?’
‘पल्लो फेदीका मान्छेलाई गएर सोध्नू नि ।’
‘के भनेर रोकेका रे ? के गल्ती गरिस् छोरी ?’, समस्या परेरै छोरी स्कुल नगएकी भन्ने बुझेपछि आमाले मायालु स्वरमा सोध्नुभयो ।
‘हिजोमात्रै मसँगै पढ्ने सबितालाई यो बाटो नहिँड् भने रे । कत्ति न तिनका बाऊको निजी बाटोजस्तो !’
छोरीले कुरो प्रष्ट नभन्दा आमालाई झनै सकसक भयो । कारण बुझ्न सम्झाउन थाल्नुभयो, ‘त्यत्तिकै नहिँड् भनेनने होला, सधैं त त्यही बाटो हिँड्थ्यौ त तिमेरु ।’
गंगालाई वास्तविक कुरो भन्न पनि अप्ठ्यारो भएको थियो । आमाले घुमाउरो भाषा बुझ्नै सक्नुभएन ।
‘ऊ क्या सबितालाई… ।’, गंगा बोल्दा बोल्दै चुप भइन् । ‘के… प्रष्ट भन्नु नि ।’ ‘उसलाई छुई भा’थ्यो क्या…!’
‘सबितालाई त्यस्तो भको पल्लो फेदीकालाई कसरी था’भो र ?’

छोरीको कुराले आमालाई अझै अलमल बनायो । उसले त्यस्तो बेला स्कुलमा के कसो गर्ने ? मलाई त दुई दिन निकै समस्या प¥यो भनेकी थिई । छेवैको फलैंचामा बस्नेहरूले सुनेछन् । आमालाई उनले प्रष्ट्याइन् ।
फर्किदा त त्यस्तो बेला यो देवीदेवताको मन्दिरको बाटो हिँड्न मिल्छ ? भन्दै थर्काए । हामी तल्लो टार घुमेर एक घण्टा लगाएर घर आउनुप¥यो । हिजो किन ढिलो ? भन्दै हुनुहुन्थ्यो नि अब त थाहा भयो नि । उनले समस्या सुनाइन् ।
‘हिजोको कुराले आज स्कुल जान चैं तलाई के ले रोक्यो नि ?’, आफ्नै समस्याले स्कुल नगएकी होली भन्ने अनुमान गरेकी आमा रनक्क हुनुभयो ।
‘यी आज मलाई पनि सबिताकै रोगले छोयो, के हुनु नि…?’
आमा चुपचाप काममा करेसाबारी निस्कनुभयो । साँझ स्कुलका एक हुल साथी (केटाकेटी) गंगाको घर आए । सबिता पनि सँगै आइन् ।

गंगा तीनछक्क परिन् । ‘गंगा, किन स्कुल नआएकी ?’, स्कुलमा गठन गरेको ढिकुरे बाल क्लबका अध्यक्ष कबिनले सोधे ।
गंगाले साथीहरू आउनुको कारण अनुमान लगाइन् र आफ्ना कुरा सुनाइन् ।
‘भोलिदेखि पल्लोटारको बाटो हुँदै नियमित स्कुल आउनू, समस्या सुल्झिसक्यो’, कबिनसँगै सबै साथीले एक स्वरमा भने ।
आँगनमा विद्यार्थीको हुल देखेर आमाबुबा, हजुरबुबा, हजुरआमा सबै भेला हुनुभएको थियो । नसोचेको कुरा सुनेर गंगालाई पत्याउनै कठिन भयो ।
‘भोलि स्कुलमै भेटौंला’ भन्दै साथीहरू बाटो लागे । सबिता छेउमा आइन् । गंंगाले सोधिन्, ‘सबिता यो सब कसरी ? तिमीलाई मन्दिरको बाटै नहिँड् भनेका थिए त्यसैले म नआको तर भोलिदेखि कसरी… ?’

‘हेर गंगा, मै अचम्ममा छु । मेरो घटना निराले क्लबमा राखिछे’, सबिताले बेलीबिस्तार लगाइन्, ‘आज तँ र मलाई लिएर जान्छु भनेर निरा यहाँ आइछे । आमाछोरीको संवाद ढोकाबाहिरै सुनेपछि चुपचाप स्कुल पुगेर क्लबको बैठकमा तेरो विषय पनि राखिछे ।’
क्लबमा सुनाउँदैमा बैठक बस्दैमा यो सबै संभव नहुने तर्क गरिन् गंगाले । बैठकमा हेडसरले व्यवस्थापन समितिका पदाधिकारी, सर, मिस सबै राखेर छलफल गरेको सबिताले सुनाइन् ।
‘बैठकको निर्णयअनुसार हामी विद्यार्थीसमेत सबै पल्लो टार पुग्यौं’, उनले भनिन्, ‘यो विषयमा लामो बहस भयो, टुंगोमा पुगेपछि हामी सिधै तिम्रो घर आएका ।’
‘सुन्छ्यौ त्यहाँका कुरा…!’ ‘भन न के के भए… । यो त नसोचेको भएछ ।’
महिनावारी हुँदा मन्दिरको बाटो हिँडे सबै अपवित्र हुन्छ रे । विवाद झन् लम्बियो । विद्यार्थी कोही बोलेनौं । हेडसर र व्यवस्थापन समितिले मन्दिरभित्र पो नपस्नु, देवीदेवतालाई नछुनु नढोग्नु तर दुई चार सय मिटर परको बाटो हिँड्दा केही नहुने तर्क गर्नुभयो ।
पल्लो टारका बासिन्दाले झन् अनेक रुढीवादी तर्क झिके । समितिका अध्यक्ष विक्रमले कडा प्रतिवाद गर्नुभयो, ‘त्यसो भए महिनावारी (छुई) भएका महिलाले टेकेको माटोले गाउँ अझ नेपालभरकै घर र मन्दिर सबैलाई छुन्छ, अब के गर्ने ?’

‘तपाईहरूका घरका महिला छुईहुँदा के गर्छन् माथि आकाशमा चराजस्तै उडिरहन्छन् चार दिनसम्म ?’, समितिका सदस्य विनोद चर्किनुभयो ।
यी सबै कुरा हजुरबुबा, हजुरआमा, बुबा, आमा सबैले सुनिरहनुभएको थियो । केही बोल्नुभएको थिएन ।
‘हो रै’छ सबिता । उल्टापाल्टा कुरा गर्नेलाई त्यसरी नै जवाफ दिनुपर्ने रहेछ नत्र मनको आँखा नखुल्ने रहेछ’, गंगाले कुरा गर्दा सबै छक्क पर्नुभयो ।
सबिताले छुईहुँदा के गर्ने के नगर्ने धेरै कुरा सिकेकी थिइन् । पहिलो दिनको सामना गरिरहेकी गंगालाई यस्तो बेला के गर्ने के नगर्ने उनले सबै सिकाइन् ।
बजारमा स्यानेटरी प्याड पाइने भए पनि अरूले किनेर नल्याइदिने भएकाले आफैंले जोहो गर्नुपर्ने उनले सुझाव दिइन् ।

‘प्याड नहुँदा सफा नरम कपडाको टालो लगाउने । बेला बेलामा फर्ने, सुत्ने र बस्ने ठाउँ निश्चित बनाउने र हरदम सफा राख्ने’, सबिताले सिकाइन् ।
‘त्यत्तिले पुग्छ ?’ ‘यो महिलामा देखिने प्राकृतिक कुरो हो, अप्ठ्यारो मान्नै पर्दैन तर चोखोनितो हुनुपर्छ ।’
क्लब र विद्यालयमा बसेको बैठकमा धेरै कुरो सिकेकी थिइन् सबिताले । त्यहाँ छुईहुँदा स्कुल छोड्नु नपर्ने तर घरमा धेरै काम नगरी आराम चाहिने कुरा पनि उनले सुनाइन् ।
गंगाले भनिन्, ‘साथी, आज धेरै कुरा सिकें, समाजको विकृति पनि तेरो र मेरो कारणले तोडिएछ, अत्यन्तै खुसी लाग्यो ।’
‘यस्ता विकृति समाजमा थुप्रै छन् गंगा । अब हामी बुझ्नेहरूले नै तोड्नुपर्छ’, सबिताले विदा माग्दै भनिन् ।

हजुरबुबा, हजुरआमा, बुबा र आमा पनि छोरीहरूका कुरा सुनेर मुखामुख गरिरहनुभएको थियो ।

गोपीकृष्ण ढुंगाना
थप जानकारी