तपाईँहरूलाई थाहा छ, गिनिज बर्ल्ड रेकर्डस बुक पहिलोपल्ट कहिले छापिएको थियो ? यो पहिलोपल्ट आजभन्दा ६६ वर्षअघि सन् १९५५ मा छापिएको थियो । आजसम्म यो किताब संसारका १०० भन्दा बढी मुलुकमा गरेर १४ करोड ३० लाख प्रतिभन्दा बढी बिक्री भैसकेको छ । यसको अनुवाद ४० भन्दा बढी भाषामा भैसकेको छ । गिनिज बर्ल्ड रेकर्डस बुकको प्रत्येक संस्करणमा हज्जारौं किर्तीमानहरू समावेश हुन्छन् । तीमध्ये ८० प्रतिशत जति किर्तीमानहरू वर्षेनी बदलिइरहेका हुन्छन् ।

सन् २०२१ मा आइपुग्दा यसको ६६ औं संस्करण प्रकाशन भएको छ । संसारका १०० मुलुकमा २३ भाषामा प्रकाशित यसको डाटाबेसमा ५३ हजार रेकर्ड छन् । प्रिन्टका अतिरिक्त यसको अन्तर्राष्ट्रिय फ्रेन्चाईजहरू टेलिभिजन सिरिज र म्युजियमहरूमा पनि गएको छ । गिनिज बुकमा हालसम्म नेपालका २१६ रेकर्ड दर्ता भएका छन् । तीमध्ये अधिकांश हिमाल र हिमाल आरोहणसँग सम्वन्धित छन् भने कतिपय अन्य चाखलाग्दा प्रतिभा प्रदर्शनका रेकर्डहरू पनि छन् । गिनिज बुकमा दर्ता भएका सबै रेकर्डहरू यसै पनि सुन्दैमा अचम्म लाग्ने र रोचक हुन्छन् ।

उदाहरणका लागि नेपालका गौरवराज घिमिरेले गिनिज बल्र्ड रेकर्डस बुकलाई सबैभन्दा लामो समयसम्म औंलाको टुप्पामा घुमाउने किर्तीमानी कायम गरेका छन् । उनले ९ मार्च १०१९ मा यो किताबलाई २ घण्टा १० मिनेट २ सेकेण्डसम्म घुमाएर रेकर्ड बनाएका हुन् ।
यस्तै टाउकामा आफ्नै खुट्टाले हानेर नेपालका पुष्कर नेपालले रेकर्ड बनाएका छन् । उनले १ मिनेटमा १३४ पल्ट दुबै खुट्टाले पालैपालो आफ्नै टाउकामा हानेर रेकर्ड बनाएका हुन् ।नेपालका र नेपालीले बनाएका अन्य रेकर्डहरू पनि उत्तिकै रोचक छन् । यसबारे अझै विस्तृतमा थाहा पाउन मन छ भने तपाईहरू https://www.guinnessworldrecords.com/ मा गएर Nepal वा अन्य जुनसुकै मुलुकको नाम टाइप गरी हेर्न सक्नुहुनेछ ।

गिनिज बुकमा दर्ता भएका कतिपय रेकर्डहरू हेर्न साना बालबालिकाहरूलाई अनुमति हुन्न । किनभने कतिपय रेकर्डहरू डरलाग्दा वा जोखिमपूर्ण पनि हुन्छन् । त्यसैले गिनिज बुकले बालबालिका लागि मात्रै  https://kids.guinnessworldrecords.com/ पनि सञ्चालन गरेको छ । यो तपाईहरूका लागि अझै उपयुक्त हुन सक्छ ।