प्यारा नानीबाबुहरू,

आज जुन १२, विश्व बालश्रमबिरुद्धको दिवस । यस अवसरमा तिमीहरूलाई एउटा पत्र लेख्न मन लागेको छ । आशा छ, पढेर अवश्य प्रतिक्रिया दिनेछौं ।

यो दिवस मनाइरहँदा मलाई आफ्नो बालापनको सम्झना आइरहेको छ । हामीलाई बालश्रम भनेको के हो भन्ने कुरा धेरै पछिसम्म थाहा भएन । बालश्रम के हो भन्ने नै थाहा नभएपछि त्यसविरुद्ध बोल्नुपर्छ भन्ने कसरी थाहा हुन्थ्यो र ?

आजभन्दा ३०–३५ वर्षअघि हाम्रो सूचना र ज्ञानको प्रमुख स्रोत रेडियो नेपाल मात्र थियो । पत्रपत्रिका गाउँसम्म सहजै पुग्दैनथे । अहिले तिमीहरूले प्रयोग गर्ने मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको कल्पनासम्म पनि थिएन । संसारलाई चिन्ने, बुझ्ने र तुलना गर्ने अवसर सीमित थियो । हामी आफ्नै सानो घेराभित्रको संसारमा रमाउँथ्यौँ । तर आजका तिमीहरू विश्वसँग जोडिएका छौ, धेरै सचेत छौ अनि अधिकार र कर्तव्यबारे  जानकार छौ ।

अहिले फर्केर हेर्दा मलाई लाग्छ, म ११–१२ वर्षकी हुँदा मेरो चेतनाको स्तर निकै कम रहेछ । म विद्यालय जाँदै गर्दा मेरै उमेरको कुनै बालक घाँस काटिरहेको देखिन्थ्यो । तर त्यतिबेला उसलाई सहयोग गर्नुपर्छ, विद्यालय जान प्रेरित गर्नुपर्छ भन्ने सोच मलाई कहिल्यै आएन । बरु म “ऊ स्कुल जान पाउँदैन, म त जान पाउँछु” भन्ने बालसुलभ घमण्ड गर्थेँ ।

कुनै साथी आफ्नो सानो भाइलाई पिठ्युँमा बोकेरै विद्यालय आएकी हुन्थिन् । तर उनको अवस्था बुझेर साथ दिनुको सट्टा हामीमध्ये केही साथीले जिस्क्याउँथ्यौँ । उनी किन त्यसरी आउन बाध्य थिइन्उ र उनलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने सोच नै आउँदैनथ्यो ।

अहिले सम्झँदा मलाई आफ्नो त्यो व्यवहारप्रति पश्चाताप लाग्छ । यही पत्रमार्फत् म उहाँहरू सबैप्रति माफि चाहन्छु जसलाई मैले विषम परिस्थितिमा देखेर पनि सहयोग पुर्याउन सकिन । समानुभूति गर्न त के सहानुभूति दर्शाउन समेत सकिन !

मलाई विश्वास छ, आज तिमीहरूले त्यस्तो अवस्था देख्यौ भने पक्कै पनि फरक व्यवहार गर्छौ । उनीहरूलाई साथ दिन्छौ । त्यसबारे आफ्ना अभिभावकलाई भन्छाै । शिक्षकलाई जानकारी गराउँछौ र समस्या समाधानको बाटो खोज्छौ ।

आज पनि संसारभर लाखौँ बालबालिका दिनहुँ विद्यालय जानुको साटो श्रममा संलग्न छन् । अन्तर्राष्ट्रिय श्रम संगठन र युनिसेफले सार्वजनिक गरेको सन् २०२४ को विश्वव्यापी अनुमान अनुसार विश्वभर करिब १३ करोड ८० लाख (१३८ मिलियन) बालबालिका बालश्रममा संलग्न छन् । त्यसमध्ये ५ करोड ४० लाख (५४ मिलियन) बालबालिका स्वास्थ्य, सुरक्षा र विकासका लागि जोखिमपूर्ण काममा संलग्न छन् । सन् २०२० को तुलनामा २ करोडभन्दा बढी बालबालिका बालश्रमबाट बाहिर आए पनि विश्वले सन् २०२५ सम्म बालश्रम अन्त्य गर्ने लक्ष्य हासिल हुन सकेको छैन ।

नेपालको अवस्था पनि पूर्ण रूपमा सन्तोषजनक छैन । नेपाल सरकारको तत्कालीन केन्द्रीय तथ्याङ्क विभाग र अन्तर्राष्ट्रिय श्रम संगठनको संयुक्त नेपाल बालश्रम प्रतिवेदन २०२१ अनुसार नेपालमा करिब ११ लाख बालबालिका बालश्रममा संलग्न छन् । त्यसमध्ये करिब २ लाख बालबालिका बालश्रमका सबैभन्दा खराब तथा जोखिमपूर्ण कामहरूमा संलग्न छन् । नेपालमा बालश्रमको सबैभन्दा ठूलो हिस्सा कृषि क्षेत्रमा छ । कुल बालश्रमको करिब ८७ प्रतिशत बालबालिका कृषि क्षेत्रमा कार्यरत छन् ।

प्रिय नानीबाबुहरू,

तिमीहरू मोमो खान कुनै होटलमा जाँदा आफ्नो उमेरकै बालकले प्लेट उठाइरहेको देख्न सक्छौ । बाटोमा फूल बेचिरहेकी कुनै सानी बालिकालाई भेट्न सक्छौ । घरमा काम गर्ने कसैकी छोरी कहिल्यै विद्यालय गएको नदेख्न सक्छौ । के यस्ता दृश्य देख्दा देख्दा तिमीहरू पनि ३०/३५ वर्षअघिको मैले जस्तै “मलाई के मतलब” भनेर चुप लागेर बस्छौ र ? पक्कै बस्दैनौ नि हैन ?

बालश्रम केवल कानुनी वा आर्थिक समस्या मात्र होइन । यो बालबालिकाको शिक्षा, स्वास्थ्य, सम्मान र भविष्यसँग जोडिएको विषय हो । तिमीहरूले जस्तै प्रत्येक बालबालिकाले पढ्न, खेल्न, सिक्न र सपना देख्न पाउने अधिकार र चाहना राख्छन् ।

त्यसैले यदि तिमीहरूको कुनै साथी कामका कारण विद्यालय आउन नसकेको छ भने शिक्षकसँग कुरा गर । घरमा अभिभावकसँग छलफल गर । विद्यालयको बाल क्लब, साथी समूह वा समुदायका जिम्मेवार व्यक्तिहरूलाई जानकारी गराऊ । कहिलेकाहीँ एउटा सानो आवाजले पनि कसैको जीवन पूरै बदल्न सक्छ ।

मलाई विश्वास छ, तिमीहरूले हाम्रो पुस्ताले गरेका कमजोरीहरू अवश्य दोहोर्याउने छैनौं । अरूको पीडा बुझ्ने, सहयोग गर्ने र अन्यायविरुद्ध बोल्ने साहस तिमीहरूमा सधैँ रहोस् ।

विश्व बालश्रमबिरुद्धको दिवसकोयस वर्षको नारा छ–  “बालश्रमलाई रातो कार्ड: बालबालिकाका लागि न्यायपूर्ण अवसर, वयस्कका लागि मर्यादित रोजगारी ।” (Red Card to Child Labour: Fair Play for Children, Decent Work for Adults.)

यो नारा नारामा मात्र  सीमित नरहोस् । हरेक बालबालिकाले श्रम होइन, शिक्षा पाउनुपर्छ । शोषण होइन, अवसर हासिल गर्नुपर्छ । विश्व बालश्रमविरुद्धको दिवसका अवसरमा एउटा प्रतिबद्धता गरौँ— तिमी हामी सबै मिलेर बालश्रम अन्त्यको पहल गर्नेछौं । तिमीहरू सबैलाई मेरो धेरै धेरै शुभकामना ।

yamunaadhikaro127@gmail.com

यमुना पराजुली
थप जानकारी