मैले विद्यालयमा पढाउन थालेको लगभग ५ वर्ष भयो । २०७७ माघ १३ गते देखि पढाउन थालेको । यस अवधिमा मैले धेरै विद्यार्थीलाई पढाइसकेँ ।

विद्यालयमा पढाउनु कुनै असाधारण काम होइन । तर कुनै शिक्षकले प्रत्येक विद्यार्थीलाई असाधारण संभावनायुक्त प्रतिभाका रूपमा देख्छ भने यो कुनै साधारण काम पनि होइन । देख्दा सजिलो तर व्यवहारमा धेरै नै धैर्य र मेहेनत पर्ने पेशा हो यो ।

त्यसैमाथि अहिलेका विद्यार्थीलाई पढाउनु अझ चुनौतीको कुरा हो । कारण के भने आजका अधिकांश बालबालिकालाई मोबाइलको लत लागिसकेको छ । उनीहरूले इन्टरनेटबाट यति धेरै जानकारी पाइसकेका हुन्छन् कि किताबका कुराहरूले उनीहरूलाई हत्तपत्त छुँदै छुँदैन । विद्यालयको अपेक्षा एकातिर हुन्छ, विद्यार्थीहरू अर्कोतिर । हामीजस्ता शिक्षकहरूले पढाउने र विद्यार्थीसँग व्यवहार गर्ने तौरतरिका पनि फरक फरक हुन्छ ।

पहिला पहिला विद्यार्थीहरू शिक्षकले भनेको सहजै मान्थे, टेर्थे । अहिले उनीहरूले पर्याप्त स्वतन्त्रता पाइरहेका छन् । उनीहरूलाई लागेको हुनसक्छ, हामीले किन कसैको आदेश पालना गर्ने ? त्यसैले अहिले सही अर्थमा आज्ञाकारी विद्यार्थी त कमै मात्र पाइन्छन् ।

समय र परिस्थितिसँगै हामी विद्यार्थीसँग अलि साथी जस्तो व्यवहार गरेर पढाउन खोज्छौँ । यसैको पनि एउटा चुनौती के भने, विद्यार्थीहरू साथी त बनिदिन्छन् तर पढाइमा पटक्कै सुधार गर्न सक्दैनन् । सायद यस्तो समस्या सबैतिर नहोला । तर मैले यस्तो समस्या धेरै नै भोगेको छु ।

पढाउन खोज्यो, हल्ला गरिदिने । संझाउन खोज्यो नसंझिने । अब चर्को स्वर गर्ने वा गाली गर्ने त कुरै आएन । यस्तोमा कहिलेकाहिँ साह्रै मन विचलित हुन खोज्छ । सबैभन्दा बढी पीडा कतिबेला हुन्छ भने, यस्तो समस्या शिक्षक एक्लैबाट मात्र समाधान हुन सक्दैन, बरु सिङ्गो विद्यालय परिवार र अभिभावकको पनि यसमा साथ चाहिन्छ भनेर बुझाउन खोज्दा न विद्यालयले बुझेजस्तो लाग्छ, न अभिभावकले ।

कतिपय विद्यार्थी त अलिअलि मानसिक किसिमले फरकपन भएका पनि हुन्छन् । उनीहरूलाई कसरी सिकाउने, कसरी व्यवहार गर्ने भन्ने कुरा हामी सबै शिक्षलाई नै थाहा छैन । यस्तो अवस्थामा उनीहरूले के बुझून् ? कसरी सिकून् ?

मैले पढाउने कतिपय विद्यार्थीमा एटेन्सन डेफिसिट (Attention Deficit) । कतिमा एक तहको अटिजम पनि छ । थोरै संख्यामा भए पनि अहिलेका बालबालिकामा पाइने सबैभन्दा जटिल समस्या भनेकै यही हो जस्तो लाग्छ ।

कति विद्यार्थी चलाख छन्, पढ्छन्, बुझ्‌छन् । तर धेरैजसोले ध्यान एकाग्र गर्न सक्दैनन् । मोबाइलको लतले गर्दा उनीहरूमा यस्ता समस्या देखिएको हो भन्ने मलाई लाग्छ । मोबाइलमा खेलिने गेमहरू र छोटा छोटा भिडियोहरूले तिनलाई बढी नै तानिरहेको हुन्छ । तर किताबका शब्द र रङहरूले तिनलाई तान्न सक्दैनन् ।

अहिलेको अर्को समस्या भनेको आमाबुबाले छोराछोरीलाई घरमा समय दिन नसक्नु हो । कैयन् आमाबुबाहरू आफैँ मोबाइलको लतमा लागिरहेका हुन्छन् । छोराछोरीले कसरी पढिरहेका छन्, उनीहरू के गरिरहेका छन् भनेर खासै ध्यान दिएकै हुँदैनन् । उनीहरूलाई विद्यालयको पढाइ मात्र पर्याप्त छ भन्ने लाग्छ । घरमा राम्रोसँग बुबाआमाको रेखदेख नपाएका विद्यार्थीहरू गृहकार्य नगरी आउने गर्छन् । होमवर्कको डायरी साइन गराउँदैनन् । सायद उनीहरू डायरी नै देखाउँदैनन् । सायद उनीहरूले बुबाआमालाई ढाँटिरहेका हुन सक्छन् ।

विद्यार्थीले कहिलेकाहिँ गृहकार्य नगरी आए भने हामी संझाउँछौं, बुझाउँछौं । तर हरेक दिन गृहकार्य नगरी आउने विद्यार्थीलाई कसो गर्ने ? यस्तो अवस्थामा हामी आफैँ अल्मलिन्छौं । कतिपय शिक्षक गाली गर्न वा कुनै न कुनै प्रकारको सजायँ दिन पाए समाधान हुन्थ्यो कि भन्ने सोच्नुहुन्छ । तर गाली वा सजायँ कसरी समाधन हुन सक्छ र ?
उसो भए खास समाधान के त ? हामी शिक्षक अहिले के ठानिरहेका छौं भने किताबमा भएका पाठहरू खुरुखुरु पढाउनु मात्रै हाम्रो काम हो । तर खासमा होइन । विद्यार्थीका कमजोरी, अल्छ्याई र पढाइप्रतिको अरुचिलाई सम्बोधन गर्ने दायित्व पनि हाम्रै हो । प्रत्येक विद्यार्थी असाधारण हुन्छ । प्रत्येकको परिवेश फरक हुन्छ । त्यसैले सबैलाई एउटै तरिकाबाट बुझाउन नसकिएको हो ।

विद्यार्थीलाई बुझाउनुअघि हामीले उसलाई बुझ्‌न सक्नुपर्छ । उसको समस्याको जरासम्म पुग्नुपर्छ । कसो गर्दा उसले हामीले भनेका कुरा सुन्छ भन्ने थाहा पाउनु आवश्यक छ । मलाई लाग्छ किताबमा लेखिएका कुराहरू खुरुखुरु रटाउनु भन्दा पनि यसो गर्न सक्नु नै एउटा शिक्षकको खास खुबी हो । विद्यार्थीलाई पढ पढ भनेर कराउनु कुनै नौलो काम होइन । उनीहरूलाई पढाइप्रति अभिरुचि जगाउन सक्नु नै खास काम हो । त्यसपछि त विद्यार्थी आफैँ पढन् थालिहाल्छन् नि !

ऋचा तिवारी
थप जानकारी