आज जुन २१ । अन्तर्राष्ट्रिय योग दिवस । योग मानव जीवनलाई स्वस्थ, सन्तुलित र सकारात्मक बनाउने प्राचीन विधि हो। आजको व्यस्त र प्रविधिमैत्री जीवनशैलीमा बालबालिकाहरु शारीरिक रुपमा कम सक्रिय हुँन थालेका छन् । उनीहरू धेरै समय मोबाइल, ट्याबलेट वा कम्प्युटरमा बिताउँछन् । यस्तो अवस्थामा योग विद्यालय तहका बालबालिकाका लागि अनिवार्य  आवश्यकता बनेको छ।

योग शरीर मोड्ने वा तन्काउने अभ्यास मात्र होइन । यो शरीर, मन र भावनाबीच सन्तुलन कायम गर्ने विधि हो । विश्व स्वास्थ्य संगठन (WHO) ले पनि शारीरिक गतिविधि र स्वस्थ जीवनशैलीका लागि योगलाई उपयोगी विधि मानेको छ । बालबालिकाको स्वस्थ्य विकासका लागि योग आवश्यक अभ्यास भएको ठहर्याएको छ। नेपालमा पनि योग शिक्षालाई विद्यालयस्तरमा अनिवार्य अभ्यासका रुपमा विस्तार गर्नु आवश्यक छ । किनकि योगका निम्न प्रत्यक्ष लाभ छन् ।

योगले शरीर स्वस्थ्य बनाउँछ

बाल्यावस्था शरीरको विकास हुने महत्वपूर्ण समय हो। यस समयमा नियमित योग अभ्यासले शरीरलाई लचिलो र सन्तुलित बनाउँछ। योगका विभिन्न आसनले मांसपेशी बलियो बनाउँछन्। शरीरको सन्तुलन सुधार्छन्। हड्डी र जोर्नीलाई स्वस्थ राख्न मद्दत गर्छन्।

योग गर्ने बालबालिकामा शरीरको चालढाल राम्रो हुन्छ । थकान कम हुन्छ र दैनिक काममा सक्रियता बढ्छ। नियमित योग अभ्यासले शारीरिक तन्दुरुस्ती कायम राख्न सहयोग गर्छ।

पढाइमा ध्यान केन्द्रित हुन्छ

एकाग्रता वा ध्यान केन्द्रित हुन नसक्नु अधिकांश विद्यार्थीको साझा समस्या हो । कक्षामा लामो समय बस्दा उनीहरूको एकाग्रता घट्न सक्छ। योगमा गरिने श्वास–प्रश्वास र ध्यानका अभ्यासले मन शान्त बन्छ ।

अमेरिकास्थित स्वास्थ्य अनुसन्धान संस्थाहरूले गरेका अध्ययनहरूमा विद्यालयमा योग अभ्यास गर्ने बालबालिकामा ध्यान केन्द्रित गर्ने क्षमता बढेको र अतिचञ्चल व्यवहार कम भएको पाइएको छ।

जब विद्यार्थीको ध्यान केन्द्रित हुन्छ, तब सिकाइ पनि प्रभावकारी बन्छ। त्यसैले योगलाई “मनको व्यायाम” पनि भनिन्छ।

तनाव र चिन्ता कम गर्छ

अचेलका बालबालिकाहरु विभिन्न प्रकारका तनावबाट प्रभावित हुन्छन्। गृहकार्य, परीक्षा, प्रतिस्पर्धा, सामाजिक दबाब वा पारिवारिक समस्याले उनीहरूमा चिन्ता बढाएको हुन्छ ।

योगले शरीरलाई आराम दिन्छ। गहिरो श्वास लिने अभ्यासले तनाव कम गर्न मद्दत गर्छ। योगका क्रममा गरिने ध्यान र विश्राम अभ्यासले मनलाई शान्त बनाउँछन्। यसले बालबालिकालाई आफ्ना भावना नियन्त्रण गर्न सिकाउँछ।

आत्मविश्वास बढाउँछ

योगमा प्रतिस्पर्धा हुँदैन। प्रत्येक बालबालिकाले आफ्नो क्षमता अनुसार अभ्यास गर्न सक्छन्। यसले उनीहरूमा “म पनि सक्छु” भन्ने भावना विकास गर्छ।

योगका नियमित अभ्यासले आत्मविश्वास, आत्मअनुशासन र सकारात्मक सोच बढाउने विभिन्न अध्ययनहरूले देखाएका छन्। आत्मविश्वासी बालबालिका विद्यालय, घर र समाजमा अझ सक्रिय र जिम्मेवार बन्छन्।

भावनात्मक सन्तुलन सिकाउँछ

बालबालिका कहिलेकाहीँ रिसाउँछन् । कहिले डराउँछन् । परीक्षा राम्रो नहुँदा वा खेल हार्दा निराश हुन सक्छन् । योगले यी भावनालाई सहज व्यवस्थापन गर्न सघाउँछ । योगले बालबालिकालाई आफ्ना भावना बुझ्न र नियन्त्रण गर्न सिकाउँछ। नियमित अभ्यासले धैर्यता, सहनशीलता र आत्मनियन्त्रण बढाउन मद्दत गर्छ। योग भावनात्मक व्यवस्थापनका लागि पनि उपयोगी अभ्यास हो ।

यही कारणले विश्वका कतिपय विद्यालयहरूले योग र माइन्डफुलनेस कार्यक्रम सञ्चालन गर्न थालेका छन्।

स्वस्थ बानी विकास गर्छ

बाल्यकालमा सिकेको बानी जीवनभर रहन्छ। यदि बालबालिकाले सानैदेखि योग सिके भने उनीहरू स्वस्थ जीवनशैलीतर्फ आकर्षित हुन्छन्।

नियमित व्यायाम गर्ने, समयमै सुत्ने, सकारात्मक सोच राख्ने र आफ्नो स्वास्थ्यप्रति सचेत हुने बानी विकास हुन्छ। यसले भविष्यमा विभिन्न नसर्ने रोगको जोखिम पनि घटाउन मद्दत गर्न सक्छ।

विश्वका विद्यालयमा योग

योग अहिले नेपाल र भारतमा मात्र सीमित छैन। विश्वका धेरै देशका विद्यालयहरूले यसलाई शिक्षा प्रणालीको हिस्सा बनाएका छन्।

अष्ट्रेलियाका कतिपय विद्यालयहरुमा योग प्रो “YogaPro Australia” नामक कार्यक्रम सञ्चालन भइरहेको छ। यो कार्यक्रमलाई विद्यालयको पाठ्यक्रमसँग जोडिएको छ। यसले विद्यार्थीको मानसिक स्वास्थ्य, ध्यान क्षमता र शारीरिक विकासमा सहयोग गर्ने उद्देश्य राखेको छ। कार्यक्रमले अष्ट्रेलियाको शिक्षा मापदण्डअनुसार काम गर्ने जनाएको छ।

त्यस्तै अष्ट्रेलियाकै द रिभर स्कुल The River School मा योग र ध्यानलाई विद्यालयको नियमित पाठ्यक्रमको महत्वपूर्ण भाग बनाइएको छ। विद्यालयका सबै विद्यार्थी योग र ध्यान कक्षामा सहभागी हुन्छन्। यसले सिकाइको वातावरण सुधार्न सहयोग गरेको विद्यालयले जनाएको छ।

अष्ट्रेलियाकै  Australian Schools of Meditation and Yoga कार्यक्रमले विद्यालय तहका विद्यार्थीका लागि योग तथा कल्याण कार्यक्रम सञ्चालन गर्दै आएको छ। कार्यक्रममा योग, ध्यान, श्वास–प्रश्वास, सकारात्मक सोच र आत्मपहिचानसम्बन्धी अभ्यास समावेश छन्।

अमेरिकाका कतिपय विद्यालयमा Kripalu Yoga in Schools Curriculum कार्यक्रम लागू गरिएको छ । यो विद्यालय उमेरका बालबालिकाका लागि विकसित गरिएको योग पाठ्यक्रम हो। यसले तनाव व्यवस्थापन, भावनात्मक नियन्त्रण, आत्मविश्वास र सकारात्मक सम्बन्ध निर्माणमा जोड दिन्छ।

हाम्रा विद्यालयले के गर्नुपर्छ ?

नेपाल योगको उद्गम क्षेत्र हो। योगप्रतिको यहाँको सांस्कृतिक र ऐतिहासिक सम्बन्ध गहिरो छ। विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा नेपालले विद्यालय शिक्षामा योग र आयुर्वेदसम्बन्धी विषय समावेश गर्ने पहल थालेको पनि छ । तर त्यस आगावै पनि विद्यालयहरुले तत्कालका लागि केही खास पहल लिन सक्छन् । उदाहरणका लागि दैनिक प्रार्थनापछि पाँचदेखि दस मिनेट योग अभ्यास गराउन सकिन्छ । खेलकुद विषयसँग योगलाई जोड्न सकिन्छ । हरेक विद्यालयमा कम्तिमा एक जना प्रशिक्षित योग शिक्षकको व्यवस्था गर्नुपर्छ । योग दिवसमा मात्र नभई वर्षभर योगका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सकिन्छ जसले गर्दा बालबालिका, शिक्षक र अभिभावकहरुलाई समेत योगबारे सचेत बनाउन सकिन्छ ।

योग कुनै धर्म वा समुदायसँग मात्र सम्बन्धित अभ्यास होइन। यो स्वस्थ जीवन जिउने वैज्ञानिक र व्यावहारिक विधि हो। योगले बालबालिकाको शरीरलाई बलियो, मनलाई शान्त र व्यवहारलाई सकारात्मक बनाउँछ। यसले ध्यान क्षमता, आत्मविश्वास र भावनात्मक सन्तुलन बढाउँछ। विश्वका धेरै विद्यालयले योगलाई आफ्नो शिक्षाको महत्वपूर्ण अङ्ग बनाइसकेका छन्।

हाम्रा विद्यालयहरूले पनि योगलाई नियमित शिक्षण प्रक्रियामा समावेश गर्न सके स्वस्थ, अनुशासित, आत्मविश्वासी र जिम्मेवार नागरिक तयार गर्न ठूलो सहयोग पुग्नेछ। योगलाई विद्यालय शिक्षाको स्थायी संस्कृतिका रूपमा विकास गर्नु आजको आवश्यकता हो।

नानीबाबुअनलाईन
थप जानकारी