लाली गुराँस नेपालको राष्ट्रिय फूल हो । यो फूल नेपालका उच्च पहाडीदेखि निम्न हिमाली भेगहरूसम्म फागुनदेखि चैत, वैशाख र जेठ महिनाभर फुल्छ । यति बेला अनेक थरीका गुराँसले जंगललाई रंगीचङ्गी बनाउँछ ।

लाली गुराँसलाई अंग्रेजीमा ‘रोडोडेन्ड्रन’ भनिन्छ । ल्याटिन भाषाको ‘रोडो’को अर्थ रातो र ‘डेन्ड्रन’ को अर्थ वृक्ष हो । ‘रातो रुख’ भन्ने अर्थमा यसलाई रोडोडेन्ड्रन भनिएको हो ।
संसारभर गुराँसका १ हजार १ सय ५७ प्रजाति फेला परेका छन् । वनस्पति विभागका अनुसार नेपालमा ३१ प्रजाति पहिचान गरिएको छ । नेपालको कुल वन क्षेत्रको करिब १० प्रतिशत भू–भागमा रहेको जंगलमा गुराँस पाइन्छ । पूर्वदेखि सुदूरपश्चिमका ४३ जिल्लाका मध्य तथा उच्च पहाडी र हिमाली भेगमा ३१ प्रकारका गुराँस पाइएका छन् ।

गुराँस पतझड वर्गमा पर्दछ । यसको रूख होचो झ्याम्म परेको हुन्छ । धेरैजसो भिरालो ठाउँमा उम्रन्छ । नेपालमा समुद्र सतहको एक हजार तीन सयदेखि दुई हजार पाँच सय मिटर उचाइ हाराहारीमा लालीगुराँस गुराँस पाइन्छ । लाली बाहेकका गुराँस भने चार हजार पाँच सय मिटर उचाइ हाराहारीमा पनि फेला परेका छन् । ३ हजार मीटरभन्दा माथिको उचाइमा सेतो गुराँस पाइन्छ । हिमाली क्षेत्रमा हुने ‘रेडोडेन्ड्रन निभाल’ नामको गुराँसलाई ‘स्नो’ अर्थात् हिउँ गुराँससमेत भन्ने गरिन्छ । रेडोडेन्ड्रन निभालजस्ता उच्च भेगका गुराँस साउन भदौमा मात्रै फुल्छन् । विश्वको सबैभन्दा अग्लो लालीगुराँसको बोट नेपालमा रहेको छ । इलामको मंगलबारेमा रहेको १६.१ मीटर अग्लो लाली गुराँसलाई गिनिज बुकले विश्वको सबैभन्दा अग्लो गुराँसको रूपमा रेकर्ड गरेको थियो ।

नेपालको पूर्वीभेगका ताप्लेजुङ, संखुवासभा र तेह्रथुमलाई जोड्ने संगमस्थल तीनजुरे, मिल्के, जलजले क्षेत्रमा लालीगुराँसको जंगल छ । जलजलेमा मात्रै गुराँसका २८ प्रजाति पाइने भएकाले उक्त ठाउँलाई गुराँसको राजधानीसमेत भनिन्छ । गुराँस नेपालसहित चीन, भारत, भुटान, म्यानमार, भियतनाम, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, उत्तर कोरिया, दक्षिण कोरिया, जापान र अस्टे«लियामा पाइन्छ । अन्य मुलुकमा प्राकृतिक रुपमा नभई पछि लगेर सारिएको पाइन्छ ।

राष्ट्रिय फूल भएकाले लालि गुराँससँग हाम्रो भावनात्मक सम्बन्ध पनि उत्तिकै छ । यसलाई विक्रम संवत् २०१९ सालमा नेपालको राष्ट्रिय फूलका रुपमा मान्यता दिइएको थियो । लाली गुराँस हेर्दा जति राम्रो देखिन्छ यसका फाइदाहरू पनि टन्नै छन् । प्राचीन कालदेखि नै आयुर्वेदमा प्रयोग हुँदै आएको यो सुन्दर फूलका मुख्य मुख्य फाईदा यस्ता छन्–

– गुराँसको जुस कलेजो, मृगौलाका समस्या र हृदय रोग लगायतका केही गम्भीर रोगका लागि लाभदायक हुन्छ ।
– उच्च रक्तचाप नियन्त्रणका लागि पनि गुराँसको रस फाइदाजनक छ । नेपालमा गुराँसको सर्वत पनि पाइन्छ ।
– गुराँसको फूलाई सुकाएर धुलो बनाएर दहिसँग मिसाएर खानाले पखाला चलेको, पेट ढाडिएको, वाकवाकी लागेको निको हुन्छ ।
– घाँटीमा केही अड्किएमा गुराँस खाँदा त्यसलाई निल्न मद्दत गर्छ ।
– गुराँसको सेवनले रगतको कमी हुन पाउँदैन ।
– मुटु रोगीले गुराँस सेवन गर्नाले कोलेस्ट्रोलको मात्रा बढ्न नदिई मुटुलाई केही हदसम्म सुरक्षित राख्छ ।
– लाली गुराँसलाई घरको ढोकामा झुण्ड्याएर राखेमा नकारात्मक उर्जा घरमा आउदैन भन्ने विश्वास छ ।