जिन्दगीका उकालीओरालीमा, भञ्ज्याङ र देउरालीमा अनगिन्ती मानिसहरू भेटिन्छन् । अनेक प्रकारका घटनाहरू घट्छन् । तर ती सबै मानिस र घटनाहरू हाम्रो संझनामा रहिरहँदैनन् । कुनै क्षणभरमै बिर्सिएर जान्छन् । कुनै महिना वर्षमा बिर्सिइन्छन् । कुनै  व्यक्ति वा घटना भने यस्ता हुन्छन् कि  हाम्रो मानसपटलमा कहिल्यै नमेटिने ढुङ्गाका अक्षर जस्ता अमिट रहन्छन् । अविस्मरणीय हुन्छन् । तिनै अविष्मरणीय व्यक्तिमध्ये मेरो स्मृति विम्वमा हुनुहुन्छ वरिष्ठ साहित्यकार ,पत्रकार,बहुमुखी प्रतिभाका धनी, स्रष्टा, द्रष्टा आदरणीय विनय कसजू सर ।

परिचय– विनय कसजू सरको जन्म  २००४ साल भदौ २५ गते बुधबार गुल्मी जिल्लाको रिडी बजारमा भएको थियो । काठमाडौंको फर्पिङस्थित आदर्श माविबाट २०२० सालमा एसएलसी  गरेपछि बनारसमा गएर पढ्न थाल्नुभएको उहाँले  आइए पास गरेर नेपाल फर्किएपछि पनि अध्ययनलाई निरन्तरता दिंदै २०२९ सालमा त्रि।विबाट बिएसम्मको औपचारिक शिक्षा आर्जन गर्नुभएको थियो ।

उहाँले स्कूल जीवनदेखि नै साहित्यमा रुचि राखी साहित्यका कितावहरू पढ्ने र लेख्ने गर्नुहुन्थ्यो । फलस्वरुप २०२० असोजकार्तिकमै गोरखापत्रमा उहाँका  लेखहरू छापिएका थिए । त्यसपछिका दिनहरूमा विनय कसजू सरले साहित्य लेखनका साथै पत्रकारिता र २० वर्षकै कलिलो उमेरमा रिडी गाउँ पंचायतको प्रधानपञ्च बनेर राजनीतिलाई एकसाथ अगाडि बढाउँदै लानुभएको पाइन्छ । बालसाहित्यमा २०२२ सालमा कुखुराका चल्लाहरू देखेर शीर्षकको  बालकविता लेखेर सुरु गर्नुभएको कसजू सरले केही वर्षको अन्तरालमा बालसाहित्यका थुप्रै पुस्तक लेखेर मात्र होइन आफूले जानेको ज्ञान,सिप म लगाएयत  अरू पनि धेरैजना लेखकहरूलाई  सिकाएर यस क्षेत्रमै विशिष्ट योगदान पुरयाउनुभयो । नेपालकै परिप्रेक्ष्यमा किशोर साहित्यको अभाव भएको बेला किशोर साहित्य लेखनको तालिम दिएर किशोर साहित्यका कितापहरू प्रकाशित गरिएका थिए । सादा जीवन उच्च विचारका कुबेर, नेपाली भाषा साहित्यका एक उज्ज्वल नक्षत्र विनय कसजू सर सशरीर अहिले हाम्रोसामु हुनु हुन्न । उहाँको भौतिक शरीर नभए पनि उहाँले दिनुभएको ज्ञान,सिप र स्नेहका माध्यामबाट विनय कसजू सरले हाम्रो हृदयमा बास गरिसक्नुभएको छ । अहिले म उहाँसँगको अनुभूतिलाई लिपिबद्ध गर्ने प्रयासमा छु । लेख्न बडो कठिन भइरहेको छ । यसो सम्झिन  खोज्यो कि अनायासेै भावविह्वल हुन पुग्छु । मन थाम्नै सक्तिन । अक्षरहरू भिजेर बिलाइदिनाले यतिखेर म शब्दविहीन भएकी छु ।

विनय कसज  सरसँगको पहिलो भेट —नेपाली भाषा साहित्यको क्षेत्रमा विनय कसजूको नाम नसुनेका अझ भनौ बालसाहित्यमा उहाँलाई नचिनेका कोही छैनन् होला । म पनि साहित्यमा रुचि राख्ने भएकाले उहाँको नाम धेरै अघि सुन्दै आएकी थिएँँ । उहाँले लेख्नुभएको बाल कथाका कितापहरू पढेकी  थिएँ । १०१ ओटा बालकथाहरूको एउटै संगालो भएको पुस्तक किनेर घरमा राखेकी पनि थिएँ । किताप भित्रका सन्देशमुलक, छोटामिठा रमाइला बाल मनोविज्ञानमा आधारित बालमैत्री उहाँका रचनाहरू पढेर भरखर बालकथा लेख्दै गरेकी मैले त्यसबाट थप ऊर्जा पाएकी थिएँ । उहाँको  बालकथा कसरी लेख्ने !  व्यावहारि ज्ञान भएको कितापबाट बालकथा लेखन शिल्प सिकेकी थिएँ । त्यसकारण मनभित्रैदेखि उहाँलाई म गुरु मान्दथें । भेट्न भने  इच्छा भएर पनि समयचाहिँ मिलिरहेको थिएन ।

२०६७ साल माघ २१,२२,र २३ गते साझा शिक्षा  नामको गैरसरकारी सस्ंथाले नेपालकै साहित्य इतिहासमा पहिलो पल्ट नगरकोटमा तीनदिने किशोर साहित्य लेखन कार्यशालाको आयोजना गरेको थियो । उक्त कार्यशालामा सहभागीताका लागि म सहित २१ जना एउटै गाडीमा जाँदै गर्दा विनय कसजूसरसँग परिचय हुने अवसर जुरेको थियो । सरको कितापमा फोटो मात्रै देखेकी मैले त्यतीबेला प्रत्यक्ष देख्न पाउँदा अत्यन्तै हर्ष लागेको थियो ।

उक्त   कार्यक्रममा महादेव अवस्थी,चूडामणि बन्धु र विनय कसजसर प्रशिक्षकको भूमिकामा हुनुहुन्थ्यो । विनय कसजू सरले हाल अरु देशमा किशोर साहित्यको अवस्था कस्तो छ ? यो कसरी लेख्नु पर्छ भन्नेबारे केही देशका उदाहरण भिडियोबाट प्रस्तुत गर्नुभएको थियो । जसले गर्दा हामी प्रशिक्षार्थीहरूलाई  परम्परागत लेखनबाट आधुनिक लेखनतर्फ प्रेरित गरिएको मैले अनुभूत गरेकी थिएँ ।

विनय कसजू सर नाम जस्तो स्वभाव पनि त्यस्तै विनयशील पाएँ मैले । उहाँको सरल व्यबहार,मधुर वाणी,भद्र अनि शालिन ब्यक्तित्व,नहडवडाई विस्तारै बुझायर पढाउने शैलीले गर्दा सरको कक्षा समय कहिल्यै लामो लागेन । बरु  अभैm सुनौ लाग्दैमा एक घण्टाको लेक्चर समय सकिएको पत्तो पाईदैनथ्यो ।

विनय सरलाई दोस्रो पटक २०६७ साल फागुन १३ गते नेपाल बालसाहित्य समाजबाट आयोजीत बालसाहित्य कार्यक्रम पाल्पामा भेटेकी थिएँ । त्यतिबेला सरसँगेै उहाँकी धर्म पत्नी गङ्गा कसजू पनि हुनुहुन्थ्यो । विनय कसजू सर र गङ्गा म्यामको जोडी अत्यन्त सुन्दर लाग्यो मलाई । जति सुन्दर जोडी उति नै सुन्दर कर्म पनि देखें मैले । उहाँहरूले नेपालकै ऐतिहासिक नगरी पाल्पामा अवस्थित  देशकै पुरानो पुस्तकालयमध्येको एक धवल पुस्तकालयमा बालकक्षको स्थापना गर्नुभएको रहेछ । भुइँमा कार्पेट ओछ्याइएको त्यसमाथी बस्नलाई चकटी, पढ्नलाई रयाकभरि बालसाहित्यका किताप, खेलौना सहितको चिटिक्क परेको साँच्चिकै लोभलाग्दो थियो त्यो बालकक्ष ।

उहाँहरूको बालबालिकाप्रतिको स्नेह, कर्तव्य, पठन संस्कृतिको विकासमा पुरयाउनुभएको योगदान सबैका लागि उदाहरणीय, अनुकरणीय लाग्यो ।

त्यसपछिका दिनहरूमा विनय सर र गङ्गा म्यामलाई बालसाहित्यका प्राय कार्यक्रमहरूमा सँगै देख्थें । जहाँ भेट्दा पनि सरम्याम मसँग बोल्नुहुन्थ्यो । सरजस्तै म्यामको पनि शालिन व्यक्तित्व, सरल व्यवहार, मधुरवाणी पाउँदा मनमनै कस्तो भाग्यमानी जोडी भन्थें । सबैसँग समान व्यवहार गर्ने सबैको भलो चिताउने, भरोसालाग्दो उहाँहरूको जोडीलाई भेट्दा मलाई मेरा साक्खै पर्ने कोही आफन्ती भेटेको अनुभूति हुन्थ्यो ।

वास्तावमा विनय कसजू सर उदार दिलको हुनुहुन्थ्यो । आफूले जानेका कुरा अरूलाई सिकाउन रुचाउनुहुन्यो । अहिलेको जमानामा मानिसहरू आफै खाऊँ, आफै लाऊँ । दुईचार जना मान्छेको अगाडि आफै जान्नेसुन्ने बनूँ भन्ने खालका स्वार्थीहरू धेरै भेटिन्छन्  ।तर, विनय कसजू सर  सबैले जानून् – बुझून्  र सबै सक्षम होऊन् भन्ने  असल  गुण भएको हुनुहुन्थ्यो  । त्यसैले त बालसाहित्यमा कलम चलाउने धेरै जनालाई प्रशिक्षण दिनुभयो । विनय सरबाट प्रशिक्षित एक दर्जनभन्दा बढी प्रशिक्षार्थीहरू आफै सक्षम भई अहिले देशका विभिन्न ठाउँका स्कूलमा गएर विद्यार्थी लगायत त्यहाँका शिक्षकरूलाई समेत बाल, किशोर कथा लेखन तालिम दिने गरेका छन् । नेपाली भाषा साहित्यको बाल,किशोर साहित्य लेखनमा यो एउटा ठूलो उपलब्धिपूर्ण कार्य हो भन्ने मलाई लागेको छ । किनभने सैद्धान्तिक ज्ञानको अभावमा सर्जकहरूले आफूखुसी लेखेका सिर्जनाहरूभन्दा प्रशिक्षणपछि लेखिएका रचनाहरू अझ बढी गुणस्तरीय, शिल्पयुक्त, बाल,किशोरमैत्री भएको मैले पाएको छु ।

म संझन्छु विनय कसजू सरले बेलाबेलामा भन्ने गर्नुहुन्थ्यो – बालसाहित्य बालबालिकालाई असल र योग्य मानिस बनाउने सबैभन्दा प्रभावकारी साधन हो । बाल साहित्य लेख्नु भनेको राष्ट्रलाई रिन तिर्नु हो।

विनय कसजू सरले बालसाहित्यमा धेरै नारी स्रष्टाहरू आउनुपर्छ । किनभने बच्चाहरू बाबुसँग भन्दा आमासँग बढी नजिक हुने हुँदा पुरुषले भन्दा नारीहरूले बालबालिकाको मनोविज्ञान बुझ्न सक्दछन् भनेर हाम्रो हौसला बढाउनुहुन्थ्यो।

केही साहित्यकारहरू अझै पनि बालसाहित्यलाई कम महत्व दिने गरेका छन् ।  नारी स्रष्टाको सिर्जनालाई हलुका रूपले हेर्ने र सतही मु मूल्यांकन गर्ने गरेका छन् । यो भनाइ उनीहरूका लागि राम्रो शिक्षा भएको मैले महसुस गरेकी थिएँ ।

विनय कसजू सर गङ्गा म्यामले मेरो शारीरिक कमजोरीका बाबजुद आफूहरूसँगै फिल्डमा लगेर धेरै महत्वपूर्ण  कार्यशालाहरूमा सहभागी गराई मलाई कहिले नबिर्सने गुन लगाउनुभएको छ । कार्यशालाका विवरण यसप्रकार छन्ः—

१) २०७१ साल पौष ११,१२ र १३ गते सिप र रोजगारी प्रवर्धन कथा लेखन कार्यशाला  पातले बन

२) २०७२ साल फागुन १४,१५,१६ गते मुटु सम्बन्धी बालकथा लेखन कार्यशाला  खहरे टौदह कीर्तिपुर

३) २०७२ साल चैत्र १२.१३.१४ गते संचार  सम्बन्धी बालकथा लेखन कार्यशाला लप्से  फेदी

४) २०७२ साल जेठ ३०.३१.३२ भुइँचालो शिर्षकमा बालकथा लेखन कार्यशाला  विवेक सिर्जनशील  प्रकाशनको कार्यालय कालिकास्थान

५) २०७४ साल फागुन १९.२०.२१.२२ चार दिने बाल, किशोर साहित्य लेखन कार्यशाला धुलिखेल । त्यतिबेला भारतबाट बालसाहित्यकार मनोरमा जफा आउनुभएको थियो ।

६) २०७४ साल असौजमा तीनदिने किशोर कथा भाग १लेखन कार्यशाला खहरे टौदह ललितपुर

७) २०७४ साल पुस १५ र १६ गते किशोर कथा भाग २ लेखन कार्यशाला खहरे टौदह ललितपुर

८) २०७५ भदौ ११,१२,१३ गते किशोरी कथा भाग १ र २ लेखन कार्यशाला पनौती नौविसे फाँट

९) २०७५ सालमा.. संस्मरण लेखन एकदिने कार्यशाला सानेपा ललितपुर

१०)  २०७६ जेठ २२ गते चराका बालकथा लेखन एकदिने कार्यशाला प्राकृतिक  विज्ञान सङ्ग्राहालय स्वयम्भु

११)२०७६ कार्तिक ८.९.१० गते लघुकथा लेखन कार्यशाला किर्तिपुर ।

त्यसरी देशको विभिन्न ठाउँमा गई कथा लेखन कार्यशलामा  जीवनको अन्तिम अवस्थासम्म पनि विनय कसजु सरले  आफूले जानेको सिप, आर्जेको ज्ञान दोस्रो पुस्तामा हस्तान्तरण गरी नेपाली भाषा साहित्यको क्षेत्रमा बाल किशोर साहित्यको  श्रीवृद्धिमा अतुलनीय योगदान पुरयाउनुभएको थियो।

विनय सर भन्नुहुन्थ्यो – बालसाहित्य सिर्जना मेरो लागि समाज र राष्ट्रका लागि योग्य र असल नागरिक तयार पार्ने अभियान हो । नेपाली बालसाहित्यलाई सार्थक र उद्देश्यमुलक बालसाहित्य बनाउन र विश्वस्तरमा पुरयाउन धेरेै काम गर्न बाँकी छ ।

त्यसरी आफू नेपाली भाषा साहित्यको अरू विधामा पनि कलम चलाएर ख्याति कमाएका विनय सरले पछिल्लो समयमा आएर बालसाहित्यलाई नै मूल विषय बनाई किताप लेखेर , अरू लेखकलाई प्रशिक्षण दिएर र  बालवाङ्मय तथा अनुसन्धान केन्द्र जस्तो बालहितकारी संस्था स्थापना गरेर  जतिबेला नि त्यसैको चिन्तनमनन गरी रातदिन खटिरहनुभएको थियो।

हामी पनि बिस्तारै उहाँकै पाइला पछ्याउँदै थियौं । गन्तव्य पुग्न बाँकी छँदै यति छिटो हामीलाई छोडेर यो संसारबाट विदा लिनुहोला जस्तो लागेको थिएन । उहाँको निधनबाट नेपाली भाषा साहित्यको क्षेत्रमा अपुरणीय क्षति पुगेको छ भने राष्ट्रले एउटा असल, इमानदार र नेपाली बाल,किशोर साहित्यको उन्नयनका लागि समर्पित विद्वान, ओजश्वी स्रष्टा गुमाएको छ भने विनय सर नहुँदा हामी रानो हराएको माहुरीको गोलोजस्तो भएका छौं ।

नागरिक न्युजबाट साभार