सबैलाई थाहा छ– जंकफुड स्वास्थ्यका लागि एकदमै हानिकारक छन्। तैपनि हामी हाम्रा बालबालिकालाई जंकफुडको लतबाट जोगाउन सकिरहेका छैनौं। किन?

लाखौं खर्च गरेर महँगा स्कुलमा पढाएका बालबालिका घर फर्केपछि अभिभावकको कुरै सुन्न तयार हुँदैनन्। किन?

स्कुले उमेरका अधिकांश बालबालिकामा अक्सर पढाइलेखाइमा ध्यान केन्द्रित नहुने समस्या बढ्दो छ। कारण के होला?

बालबालिकाले इन्टरनेटमा बिताउने समय बर्सेनी बढ्दै छ। उनीहरू घरपरिवार र साथीसंगीसँगभन्दा पनि स्मार्टफोन, भिडियो गेम, युट्युब र सामाजिक सञ्जालमा ज्यादा अलमलिन थालेका छन्। यसो हुनु ठीक हो?

के हाम्रा बालबालिका मेरा कस्ता साथी छन् र ती साथीसितको संगतले मेरो भविष्यमा कस्तो असर पर्ला भन्नेमा सचेत छन्?

स्कुले उमेरका बालबालिकालाई यिनै यथार्थ सम्झाउने प्रयत्नका रूपमा दी इटर्नल पब्लिकेसनले प्रकाशन गरेकाे  श्रीश भण्डारीको किताब ‘अठोट’ बजारमा उपलव्ध छ ।कुनै पनि व्यक्ति जीवनमा कति सफल वा असफल हुन्छ भन्ने तथ्य ऊ बाल्यावस्था र किशोरावस्थामा कसरी हुर्किएको छ भन्नेमा निर्भर गर्छ।

‘अठोट’ किताब पढेर बालबालिका र किशोरकिशोरीले कलिलो उमेरमै आफूलाई कसरी सही बाटोमा अग्रसर गराउने भन्ने निर्क्यौल गर्न सक्नेछन् भन्ने विश्वास रहेको लेखक भण्डारीको भनाइ छ। खासगरी माध्यमिक र उच्च माध्यमिक तहका विद्यार्थीले पढ्नैपर्ने यो किताब शिक्षक, अभिभावक र सकारात्मक सोच राख्न चाहने अन्य जोसुकैका लागि उत्तिकै उपयोगी छ रहेको उनी बताउँछन्।

उनका अनुसार १६० पृष्ठको यो सानो किताबको मुख्य अभिप्राय नै विद्यार्थीले हासिल गर्ने शिक्षाको नतिजा अब ग्रेड र प्रतिशतमा मात्र हैन, वास्तविक जीवनका यथार्थहरूमै झल्किनुपर्छ भन्ने हो।

आफ्ना पाठकलाई लेखक भण्डारीको आग्रह छ– ‘तपाईंहरूले यो किताबलाई सरसर्ती मात्र पढ्नुभयो भने भुल्न सक्नुहुनेछ। राम्ररी पढ्नुभयो भने पछिसम्मै याद रहनेछ। हृदयले महसुस गर्नुभयो भने मात्र आफ्नो जीवनमा उतार्न सक्नुहुनेछ। अब के गर्नुहुन्छ, त्यो तपाईंहरूकै जिम्मा।’

‘अठोट’ अहिलेको बाल पुस्तालाई भविष्यमा एक आदर्श पुस्ता बन्न उत्प्रेरणा जगाउने नेपाली भाषामा प्रकाशित गहकिलो किताब हुनसक्ने प्रकाशकको भनाइ छ।

रोचक कथाहरू र विश्वका महान् व्यक्तिहरूका उद्धरण समेटिएको यो किताब निबन्धात्मक शैलीमा छ। यसमा हामी कसरी खुशी रहने, कामहरू गर्दा कसरी प्राथमिकता तोक्ने, स्मरणशक्ति कसरी बढाउने, जंक फुडको बानी कसरी छुटाउने, रिसाउने आदत कसरी हटाउने र आत्मविश्वास कसरी जगाउने भन्ने विषयहरू छन्।

किताबमा सिकाइ शैली, परीक्षाको तयारी, कुलतबाट जोगिने तरिका, नयाँ साथी बनाउँदा ख्याल राख्नु पर्ने कुराहरू, डर भगाउने उपाय र पढाइमा रुचि जगाउने तौर तरिका पनि छन्। किताबमा उद्धरण गरिएका संसारका २८ महान् व्यक्तिहरूको संक्षिप्त परिचयसमेत समेटिएको छ।