महान् वैज्ञानिक थोमस एल्वा एडिसनको प्रयोगशाला निक्कै ठूलो थियो । त्यस प्रयोगशालामा सयौं वैज्ञानिक प्रत्येक दिन अध्ययन अनुसन्धानमा ब्यस्त रहन्थे । नयाँनयाँ आविष्कार र अनुसन्धानमा क्रियाशील उक्त विशाल प्रयोगशालामा अति नै महँगा वैज्ञानिक उपकरण थिए ।

एकदिन त्यो प्रयागशालामा ठूलो आगजनी भयो । हेर्दाहेर्दै त्यहाँ भएका सबै उपकरण जलेर खरानी भए । तर एडिसनको अनुहारमा कुनै परिवर्तन आएन । बर्षौंसम्मको अनुसन्धानपछि पत्ता लागेए अभिलेखहरू डढेर खरानी हुँदा पनि आप्mनो बुबामा कुनै परिवर्तन नआएपछि छोराले सोधे, ‘यत्रा अभिलेख डढेर नष्ट भए, करौडौंको सम्पत्ति सखाप भयो । तैपनि तपाईंमा कुनै पविर्तन देख्दिन । म आश्चर्यमा छु ।’

छोराको प्रश्नले एडिसन गम्भिर भए र भने, ‘बाबु तिमीले भनेको ठिक हो । यस्तो अवस्थामा सामान्य मानिस हतोत्साहित हुन्छन् । तर मैले यस घटनालाई महत्वपूर्ण शिक्षाको रूपमा लिएको छु । मेरा लागि यो घटनाबाट आफ्ना  गल्ती र कमजोरी सच्याउँदै भविष्यमा सतर्कता अपनाउन महत्वपूर्ण प्रेरणा मिलेको छ । अर्काे कुरा तिमीले करोडौंको सम्पति नष्ट भयो भन्यौ । तर म सोच्दैछु यो विनाशले कुनै न कुनै नयाँ बाटोको ढोका अवश्य खोल्दैछ । वितेका कुरालाई लिएर रुँदै मात्र बस्यौं भने हाम्रो भाग्यमा हार सिवाय अरु केही हात लाग्दैन । बरु यसलाई हामीले शिक्षाको रूपमा लिएर कसरी नयाँ काम गर्न सकिन्छ भनेर अध्ययन गर्न थाल्नु पर्छ ।’

एडिसनको उत्तर सुनेर उनका छोराले लामो सास फेरे । उनको अनुहारमा पनि अनौठो चमक देखियो ।

हामी सबैको जीवनमा अनेक संकट आइलाग्छन् । कहिले दुःख हुन्छ, कहिले सुख । जो सुखमा पनि मात्तिदैन र दुखमा पनि आत्तिंदैन त्यो नै असाधारण ब्यक्ति हो । त्यसकारण सुखबाट हौसला र दुःखबाट पाठ सिकेर अघि बढ्यौं भने हामीलाई पक्कै पनि सफलता हात लाग्नेछ ।

नानीबाबुअनलाईन
थप जानकारी